उनी

आज म तिमीलाई उनको कथा भन्छु। 

विचित्र छन् उनी !


को हुन् उनी ?


उनी, जसको लासलाई सिढी बनाएर कदम चालेउ तिमीले,

जसको आदर्शमा टेकी लिपिमा रगत छरेउ तिमीले,

उनी, जसको मर्यादाको चिहानमा आज तिम्रो दरबार उभिएको छ, 

जसको बिनम्र चित्रणमा तिम्रो मपाईंको भोग चढिएको छ। 


उनी, जसका लागि यथार्थले अपराधको मोड लिदैछ,

जसले प्रारब्धमा बनाएको सिसाको महल, 

आज बिहानीको सुर्यको किरण संगसंगै टुट्दैछ।  

टुट्दैछ आज सपना तिम्रो हरेक कदममा।  

कस्तो कदम हो यो तिम्रो ?

सभ्यता नै डगमगाउने !


उनका शब्द शब्दमा झल्किदैछ मानवताप्रतिको गुहार, 

बोल्दा बोल्दै पनि अबोध बन्न पुगिसकेको छ उनको चित्कार, 

"न्याय भोली" को आरम्भमा न्यायको बहिस्कार,

आश्चर्यचकित यो तिम्रो कोमल माटोमा जननीको धिक्कार । 


उनी केवल हाँस्न सक्छन् !


तिमी सोध्छौ उनी किन हास्छन भनी ?


त्यो घब्राहट को मुस्कान हो, 

विजयको बलिदान हो, 

त्यो हार मानेको मानिसको शान हो !


मस्तिस्कमा प्रलयको प्रतिबिम्ब गाँसेर हिँड्छन उनी, 

आफ्ना काला नयनले कालरात्रीको कल्पना गरि बस्छन्।  

सोच्छन उनी, 

सोच्छन कि समय यस्तो आइलाग्यो, 

समय यस्तो आइलाग्यो कि, 

अधिकारभन्दा प्रतिकार सजिलो छ यहाँ, 

गुमसुम मौसमको न्यानो अन्धकार छ यहाँ।  

न्यानो छ, तर अन्धकार छ ! 


उनी केवल हाँस्न सक्छन् !


सभ्यताको भाषाले सत्यको परिभाषा नै बुझ्न छाडे जस्तो, 

मानवताको निराशाले नैतिकताको आशा नै गर्न छाडे जस्तो, 

हास्छन उनी !

उनी हास्छन यो दुविधामा,

उनी मुस्कुराउछन यो सारै नै निर्दोष विधामा।  

उनी केवल दिलासा बोक्छन, 

दिलासा मुमुर्षाको !


तिमी सोध्छौ उनी को हुन् ?


उनी भीष्म हुन् र भस्म हुन्, 

उनी श्री कृष्ण हुन् र हरे कृष्ण हुन्, 

उनी हरण हुन् र मरण हुन्।  


उनी पुरुसत्व हुन्, र नारीत्व पनि, 

उनी भाका हुन् र शब्द पनि, 

उनी किताब पनि हुन्, 

र खिताब पनि हुन्।  


दृष्टिकोणलाइ निखार्दा निखार्दै धमिलियेछ तिम्रो दृष्टि, 

नियालेर हेर, 

उनी तिम्रो वास्तविकता हुन् । 

तिम्रो सौन्दर्य, 

तिम्रो औदार्य, 

अनि तिम्रो नियति ! 

Comments

Popular posts from this blog

Submerged

11:11

Snow

I hate sunrise

Ghost