काठमाडौँ
शीतल छ काठमाडौँ आज, मनोभावको आफ्नै तरङ्ग बगे जस्तो र वर्षाको अङ्कमालमा सजिएका यी सडक हास्यव्यंग्यका पृष्टभूमीतुल्य छन्। निकटताको ज्योतिमा चम्किएको जून आज मार्गदर्शक बनी टोलाइरहँदा, मभित्रका अवशेषमा अवकाशको नमिठो अन्त्य कोट्टाउँदै, बिडम्बनालाई डोर्याउँदै, आफ्नो छहारी दिने काठमाडौँ आज म समस्त रुपमा ग्रस्त भेट्दैछु। कस्तो अटल चञ्चलता हो यो म बुझ्न सक्दिन, म बुझ्न सक्दिन कस्तो सुन्दर बैराग्य हो यो ! बाँसुरी बजिरहँदा, आँसु बनी वेदना झरिरहँदा, केलाएका भटमास झैँ अचेतनले कोल्टे फेरिरहँदा, क्षीतिजमा बिलाउने अनकन्टार ब्रम्हाण्ड आफ्ना हत्केलामा तेर्सिरहँदा, कता पोखूँ म मेरो वीर कायरता ? कसलाई गरूँ म आश्चर्यको प्रश्न, कुन कलमले कोरूँ समयले मस्तिष्कमा कुँदेको गम्भीरता ? मेरा भाका सेलाइसकेछन्; तिम्रो अच्युत चेतले सायद कुनै पृष्टभूमी पाएन। मोहको चिताको वर्णन गर्न टद्पिरहेको कुनै निर्विकार सत्य आज परिभाषा खोज्दैछ तिम्रो सङ्गीतको, तिम्रा पङ्क्तिका, तर कसले भनिदिन्छ खै; तिमी अल्प छौ, विकल्प बिनाको। शीतलताको पछ्यौरीमा ढाकिएको तिमी अमृत थियौ, आज म...