काठमाडौँ
शीतल छ काठमाडौँ आज,
मनोभावको आफ्नै तरङ्ग बगे जस्तो
र वर्षाको अङ्कमालमा सजिएका यी सडक
हास्यव्यंग्यका पृष्टभूमीतुल्य छन्।
निकटताको ज्योतिमा चम्किएको जून
आज मार्गदर्शक बनी टोलाइरहँदा,
मभित्रका अवशेषमा अवकाशको नमिठो अन्त्य कोट्टाउँदै,
बिडम्बनालाई डोर्याउँदै,
आफ्नो छहारी दिने काठमाडौँ
आज म समस्त रुपमा ग्रस्त भेट्दैछु।
कस्तो अटल चञ्चलता हो यो
म बुझ्न सक्दिन,
म बुझ्न सक्दिन कस्तो सुन्दर बैराग्य हो यो !
बाँसुरी बजिरहँदा,
आँसु बनी वेदना झरिरहँदा,
केलाएका भटमास झैँ अचेतनले कोल्टे फेरिरहँदा,
क्षीतिजमा बिलाउने अनकन्टार ब्रम्हाण्ड आफ्ना हत्केलामा तेर्सिरहँदा,
कता पोखूँ म मेरो वीर कायरता ?
कसलाई गरूँ म आश्चर्यको प्रश्न,
कुन कलमले कोरूँ
समयले मस्तिष्कमा कुँदेको गम्भीरता ?
मेरा भाका सेलाइसकेछन्;
तिम्रो अच्युत चेतले सायद कुनै पृष्टभूमी पाएन।
मोहको चिताको वर्णन गर्न टद्पिरहेको कुनै
निर्विकार सत्य आज परिभाषा खोज्दैछ
तिम्रो सङ्गीतको,
तिम्रा पङ्क्तिका,
तर कसले भनिदिन्छ खै;
तिमी अल्प छौ, विकल्प बिनाको।
शीतलताको पछ्यौरीमा ढाकिएको तिमी
अमृत थियौ, आज मृत भयौ।
Comments
Post a Comment